विश्वकपमा केप भेर्डेको प्रभावशाली यात्रा जारी, उरुग्वेसँग रोमाञ्चक बराबरी

२०८३ अषाढ़ ०८ सोमवार
सारांश
  • विश्वकपमा पहिलो पटक सहभागी बनेको केप भेर्डेको प्रभावशाली यात्रा जारी रहँदा उसले दुई पटकको च्याम्पियन उरुग्वेसँग २-२ गोलको रोमाञ्चक बराबरी खेलेको छ ।

काठमाण्डौ, ०८ अषाढ़ । विश्वकपमा पहिलो पटक सहभागी बनेको केप भेर्डेको प्रभावशाली यात्रा जारी रहँदा उसले दुई पटकको च्याम्पियन उरुग्वेसँग २-२ गोलको रोमाञ्चक बराबरी खेलेको छ ।

 

समूह ‘एच’ अन्तर्गत भएको खेलमा केप भेर्डेले सुरुआती अग्रता लिए पनि उरुग्वेले पुनरागमन गर्दै खेलमा प्रतिस्पर्धात्मक प्रदर्शन गरेको थियो ।

 

स्पेनसँग गोलरहित बराबरी खेलेर सबैलाई चकित पारेको केप भेर्डेले २१औँ मिनेटमा केभिन पिनाको लामो दूरीको फ्रिकिकमार्फत अग्रता बनाएको थियो । उनको प्रहार रक्षापंक्तिको बीचबाट हुँदै जाली चुमेको थियो । अग्रता लिएपछि केप भेर्डे आक्रामक बनेको थियो । तर त्यसक्रममा रक्षापंक्तिमा खाली ठाउँ छाड्दा उरुग्वेले त्यसको फाइदा उठायो ।

 

माक्सी अराउजोले सिड्नी लोपेस काब्रालले आफ्नै पोस्टतर्फ फर्काएको बललाई हेडमार्फत गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याएका थिए ।

 

त्यसपछि पहिलो हाफको इन्जुरी समयमा अगुस्टिन कानोबियोले अराउजोकै पासलाई नजिकबाट गोलमा परिणत गर्दै उरुग्वेलाई २-१ को अग्रता दिलाएका थिए । उरुग्वेको निरन्तर दबाबका कारण केप भेर्डेलाई आक्रमण निर्माण गर्न कठिनाइ भइरहेको थियो । तर उसले हार मानेन र खेलमा पुनरागमन गर्‍यो ।

 

उरुग्वेका रक्षक मथियास ओलिभेराले आफ्नै क्षेत्रमा बल पास गर्ने क्रममा हेलियो भारेलालाई नदेख्दा त्यसको महँगो मूल्य चुकाउनुपर्‍यो । भारेलाले बल नियन्त्रण गर्दै गोलरक्षकलाई छलाएर खाली पोस्टमा गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए ।

 

उरुग्वेले अन्तिम समयमा विजयी गोल गर्ने अवसर पनि पाएको थियो । फेडेरिको भाल्भेर्डेले गरेको गोल अफसाइडका कारण मान्यता पाएन । इन्जुरी समयमा दुवै टोलीले थप अवसर सिर्जना गरे पनि निर्णायक तेस्रो गोल भने निस्कन सकेन ।

 

दुई खेलबाट समान दुई अंक जोडेको उरुग्वे दोस्रो तथा केप भेर्डे तेस्रो स्थानमा रहेका छन् । दुवै टोलीको अन्तिम ३२ मा पुग्ने सम्भावना अझै कायम रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार